काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुरे मास्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
आइतबार सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले चुरे मधेशको ज्यान, सान र भविष्य भएको उनको भनाइ छ ।
उनले भने, ‘हामीसँग चुरेजस्तो सम्पत्ति छ । अब मान्छे बेचेर नअघाएकाहरु अब चुरे बेचेर अघाउने कोसिस गरिरहेका छन् । खबरदार चुरे चलायो भने हामी यहाँ खबरदारी गर्न बसेका छौं । मधेशको ज्यान, सान र भविष्य हो चुरे । हाम्रो होइन आउँदो पुस्ताको लागि हो चुरे । चुरेमा आँखा लगाउँने होइन । मान्छे बेचेर कमाएको पैसाले नपुगेर अब चुरेबाट दोहन गरेर यहाँका प्राकृतिक स्रोत साधनलाई ध्वस्त पारेर कसैलाई पोस्नको लागि भित्रभित्रै सम्झौता गर्ने चाल थाहा पाएका छौं हामीले ।