११ भदौ २०८३, बिहिबार 1787833718
Banner

एमाले सचिव भट्टराई चढेको गाडीमा तोडफोड

ताप्लेजुङ-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराई सवार गाडीमाथि पहिचानवादीहरूले तोडफोड गरेका छन्।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आइतबार भट्टराई सवार प्रदेश-२-०१-००१ च ००४० नम्बरको गाडीमाथि पहिचानवादीहरूले ढुंगामुढा गरेका हुन्। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् । सचिव भट्टराई सवार गाडीको सिसा फुटेको छ।

सात/आठजनाको समूहमा रहेका उनीहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो। आक्रमणकारीले हानेकाे ढुंगामुढा लागेर भट्टराई सवार गाडीको अगाडिको भागमा क्षति पुगेकाे छ। भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो। खतिवडाका अनुसार सिसा छरपस्ट भए पनि मानवीय क्षति  भएकाे छैन। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीले एमाले सचिव भट्टराई चढेको गाडी तोडफोड भएको बताउनु भयो ।

‘उहाँ चढेको गाडीमा लुकेर ढुंगा प्रहार भएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘गाडी तोडफोड गर्नेहरूको खोजी गर्दैछौं।’