९ मंसिर २०८१, आइतबार 1732469187
समाचार

सांसद सुनिल शर्माको बिराटनगरको नोबेल मेडिकल कलेजलाई सम्मान

काठमाडौँ । कोशी प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याएको तथा श्रमिकलाई कोषमा आबद्ध गरेको भन्दै सांसद एवं डा. सुनिल शर्माको बिराटनगरको नोबेल मेडिकल कलेजलाई सम्मान गरिएको छ ।

छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएकाले उक्त कलेजलाई आज सम्मान गरिएको हो । राष्ट्रिय सभागृहमा छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिं भण्डारीले उक्त कलेजलाई सम्मान गरेका हुन् ।

आर्थिक वर्ष २०७९÷८० मा स्वास्थ्य क्षेत्रबाट कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट छनौट हुँदै डा। शर्माको उक्त नोबेल मेडिकल कलेज आज सम्मानीत भएको हो । उक्त सम्मानपत्र कलेजकातर्फबाट नारायणप्रसाद दाहालले ग्रहण गरेका थिए । सांसद डा. शर्माको नोबेलले निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं विपन्न, असहाय तथा सर्वसाधारण जनतालाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

सांसद डा.शर्माको निर्देशन बमोजिम गरिब विपन्न नागरिकलाई घरदैलोमै उक्त कलेजले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेको छ । आयोजित कार्यक्रममा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफल बनाउन योगदान गर्ने निजी क्षेत्रलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिएका थिए । पाँच लाख श्रमिकहरु सामाजिक कोषमा आबद्ध भइसकेको अवस्थामा विदेशमा रहेका नेपालीहरु र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई पनि कोषमा आबद्ध हुन प्रधानमन्त्रीको अनुरोध गरेका थिए ।

२०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले छैटौं वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको छ । कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेको तथा १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।