९ मंसिर २०८१, आइतबार 1732480527
समाचार

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : नेत्री राणा

काठमाडौँ: नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताउनुभएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा महिला नेतृत्वको अर्थपूर्ण सहभागिता’ विषयक गोष्ठीमा नेत्री राणाले कांग्रेस पदाधिकारीमा महिलाको सङ्ख्या न्यून रहेकाले यस विषयमा आगामी महासमिति बैठकमा कुरा उठाइने बताउनुभएको हो । “पार्टीको पदाधिकारीदेखि विभिन्न विभागमा कम्तीमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने हाम्रो विगतदेखिकै माग हो र यसबारे हामीले समय–समयमा आवाज पनि उठाउँदै आएका छौँ”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसकी सांसद डा राणाले महिलाका लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने भन्दै यसका लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने पनि बताउनुभयो ।

राजनीतिक क्षेत्रमा रहेका महिलाबीच पनि एकापसमा सहकार्य र समन्वय हुनु जरुरी रहेको भन्दै उहाँले एक महिलाले अर्को महिलालाई सहयोग नगरेका कारण कतिपय महिला पछाडि परेको आफ्नो अनुभव रहेको सुनाउनुभयो । उहाँले महिलाले आफ्ना अधिकारका विषयमा कुरा उठाउन छाड्नुहँुदैन भन्दै अधिकारका लागि निरन्तर आवाज उठाएमात्रै परिवर्तन आउने उल्लेख गर्नुभयो । नेत्री डा राणाले मुलुक सङ्घीय शासन प्रणालीमा गएसँगै देशमा ठूलो परिवर्तन आएको पनि बताउनुभयो । सङ्घीय लोकतान्त्रिक प्रणालीमा नै महिलाका हक र अधिकारको सुनुवाइ हुने भन्दै यसको संरक्षणमा महिला नै लाग्नुपर्नेमा उहाँको जोड थियो । उहाँले अर्काे एक प्रसङ्गमा महिलालाई आपत् पर्दा जाने ठाउँ निकै थोरै भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “महिला आयोगमा सबै महिलाको पहुँच पुग्दैन र जान पनि सक्दैनन् तर उनीहरु आपत् पर्दा कहाँ जाने ? यस विषयमा हामी सबै पार्टीका महिला नेत्रीहरूले पनि समन्वय र सहयोग गर्नुपर्छ ।” रुडुक नेपालकी अध्यक्ष सजनी अमात्यले राजनीतिमा महिलालाई अगाडि बढाउनका लागि रुडुकले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले महिला क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेमात्र राजनीतिमा महिला सहभागिता बढ्ने बताउनुभयो । अक्सफामकी अध्यक्ष शर्मिला तामाङले महिलालाई राजनीतिमा सहभागी गराउन अक्सफामले विभिन्न सङ्घसंस्थासँग मिलेर काम गरिरहेको उल्लेख गर्नुभयो । नेता बन्न धेरै चुनौती रहेको भन्दै त्यसलाई पन्छाएर अगाडि बढेमात्र सफल भइने उहाँको भनाइ थियो ।