१० मंसिर २०८१, सोमबार 1732549013
Banner

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सुनुवाइ हुर्दै, फुकुवा हुन सक्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको दाबी गर्दै मंसिर १ र ४ गते गरी १४ रिट परेका थिए । रिटको मागबमोजिम अन्तरिम आदेश जारी नभएसँगै सरकारको निर्णय रिटको फैसला नहुँदासम्म कायम रहने बाटो खुलेको हो । टिकटक माथिको प्रतिबन्धलाई लिएर टिकटक प्रेमीहरुले चौतर्फि विरोध जनाएपछि सरकार पनि दबावमा परेको छ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक बिस्तारै खोल्न सकिने संकेत गरेका छन्। हिजो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए।