९ मंसिर २०८१, आइतबार 1732487469
Banner

प्रक्रिया पूरा नगरेका औषधी पसल बन्द गर्ने महानगरको चेतावनी

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले महानगरभित्र अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराएको छ । महानगर मेयर बालेन्द्र (बालेन) शाहले आज अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराउनुभएको हो ।  

उहाँले सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिहरुबाट औषधी बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेका तथा चिकित्सकको प्रेस्किप्सनविना बिक्री भइरहेको गुनासो आइरहेको भन्दै त्यस्ता पसलहरूले तत्काल सुधारात्मक कदम चाल्न ध्यानाकर्षण गराउनुभएको छ ।  

उहाँले भन्नुभएको छ,‘काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौँ ।’ 

यही मंसिर २९ गतेभित्र आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गरिने समेत उहाँले जानकारी गराउनुभयो ।