९ मंसिर २०८१, आइतबार 1732455523
Banner

विपिन जोशीका बुबाआमाले प्रधानमन्त्रीलाई भेटे


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्डले इजरायलको विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमासँग भेट गरेका छन्।

शुक्रबार कैलालीको धनगढी विमानस्थलमा प्रधानमन्त्रीले विपिनका बाबुआमासँग भेटेका हुन्। भेटमा उनीहरूले प्रधानमन्त्रीसँग छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्रीले विपिनलाई सकुशल रिहा गराउनका लागि सरकारले पहल गरिरहेको बताए।

भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि काठमाडौं नै पुगेर परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका थिए। उनले पनि विपिनलाई छिट्टै रिहा गराउने आश्वासन दिएका थिए।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए।

गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।