काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारबीच सवाल जवाफ भएको छ। ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा अधिकारको विषयलाई लिएर सवाल जवाफ भएको हो।
कार्यक्रममा पहिले बोलेका मेयर शाहले प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न गरेपछि उनले जवाफ फर्काएका छन्। प्रचण्डले आफूलाई पहिला बोलेर हिँड्नेसँग अलि ‘इरिटेसन’हुने बताए। प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले बालेन्द्र जी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलि(अलि ‘इरिटेसन’हुन्छ। आफूले भन्ने कुरा जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्नुहुँदैन। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’
प्रचण्डले थपे,‘उहाँले भन्नुभयो यहाँबाट निस्कने बित्तिकै हुन्छ। म बालेन्द्र जीलाई के भन्न चाहन्छु भने तपाईंले चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई लिएर होस्, या तीनकुनेको कुरालाई होस्। चाहे फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने विषयमा कतिपटक सिंहदबारमा बैठक भयो। के अहिलेको प्रधानमन्त्री जस्तो रचनात्मक र सकारात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’
मेयर शाह र मन्त्री प्रकाश ज्वाला कार्यक्रमको अन्तिमसम्म नबसेको भन्दै ललितपुरका मेयर चिरीबाबु महर्जन पनि असन्तुष्ट देखिएका थिए। ‘माननीय मन्त्रीज्यू, उहाँ पनि गइसक्नुभयो। अब बालेन जी पनि गइसक्नुभयो, मलाई रिस उठ्यो के गर्ने ? ’ उनले भने।