२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 7:37 pm
Banner

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्वः प्रधानमन्त्री

सूचना प्रेस २०८० पुस १५ आइतबार ००:००, १६:२१ बजे २ मिनेट पढाइ

काठमाडौँ – प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग पुगेको बताउनुभयो । उहाँले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताउनुभयो । उहाँले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको औल््याउनु भयो ।

नेपालसहित चीन, मङ्गोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायतका देशमा पनि ल्होसार पर्व मनाइने तर ल्होसारलाई पुकार्ने नाममा भने ती देशमा विविधता भेटिने उहाँको कथन छ । विसं २०५८ सालदेखि पुस १५ मा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिँदै उहाँले ०६२÷६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाले पनि बीचमा सार्वजनिक बिदा कटौती गरिएको भएपनि पुनः अहिले सार्वजनिक बिदा दिन थालिएको बताउनुभयो । “नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ”, प्रधानमन्त्रीले भन्नुभयो , “संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो ।” नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताको संगमस्थल भएको तथ्य पेश गर्दै प्रधानमन्त्री दाहालले यहाँ बसोबास गर्ने सबै जाति÷जनजातिको आ–आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको ती सबै संस्कृतिको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको स्पष्ट पार्नुभयो । “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति हो । यो ल्होसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो”, प्रधानमन्त्रीले भन्नुभयो, “मानव जातिले पशुपालन र कृषिको सुरूवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।” यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको उल्लेख गर्दै उहाँले नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व मनाउने गरिएको बताउनुभयो ।