९ मंसिर २०८१, आइतबार 1732466764
Banner

नयाँ पुस्ताले मनमोहनको सादगीबाट पाठ सिक्नुपर्छ- ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताउनुभएको छ ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नयाँ पुस्ताले उहाँको सादगीबाट पाठ सिक्नु पर्ने बताउनुभयो ।  अधिकारी सधैभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गर्नुभयो । उहाँ सादगीको पर्याय भएको पोखरेलले बताउनुभयो ।

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका पोखरेलले नेपालको कम्युनिष्ट पार्टी भन्दा पनि जेठा कम्युनिष्टको रूपमा मनमोहन अधिकारीलाई चिनिने बताउनुभयो । अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममासमेत योगदान गर्नुभएको पोखरेलले स्मरण गर्नुभयो । ‘उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नुपर्छ, मनमोहन अधिकारीलाई हामीले सम्झिरहँदा उहाँलाई आन्दोलनको निरन्तरताको रूपमा बुझ्ने गर्दछौँ ।’ पोखरेलले भन्नुभयो ।

मनमोहनले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गर्नुभएको उहाँले स्मरण गर्नुभयो । नेपालको भूराजनीतिक संवेदनशीलतामा उहाँ अत्यन्त गम्भीर रहनेगरेको पनि पोखरेलले स्मरण गर्नुभयो । अधिकारीले देखाउनु भएको बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

मनमोहन अधिकारीको कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्मरण गर्नुभयो । त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानले ती क्षेत्रमा काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

अधिकारीले सुरु गर्नुभएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रम दक्षिण एसियाकै नयाँ र नमुना कार्यक्रम भएको उहाँले बताउनुभयो । मनमोहन अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।