५ आश्विन २०८१, शनिबार 1726950654
Banner

आगामी तीन दिन तराईंमा अत्यधिक गर्मी हुने

काठमाडौं । केही दिनयता देशभर गर्मी बढिरहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी केही दिनसम्म तराई भेगमा अत्यधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी ३ दिन ९जेठ १८ गते०सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । गर्मीबाट बच्न आवश्यक तयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने र बान्ता आदि हुनसक्ने महाशाखाको भनाइ छ ।

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान र हल्का लुगा लगाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ ।