४ आश्विन २०८१, शुक्रबार 1726820812
Banner

एमसीसी र बिआरआईबिचको अन्तर स्पष्ट पार्न अध्यक्ष केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिआरआई र एमसीसी परियोजनाबिचको अन्तर स्पष्ट पार्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बिआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन् ।

उनले नेपालमा बिआरआई परियोजनाको बिरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने बताए । अमेरिकाले चिन बिरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाई छ । उनले बिआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने बताए ।

उनले भने – ‘अहिलेकै सत्ताधारी साथीहरुले एमसीसी ल्याउँदाखेरी, अमेरिकनहरुले एमसिसीको भारी बोकाउँदाखेरी धुन्धान बिरोध गरेको होइन ? हामी सत्तामा बस्ने छैनौँ । हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडी उफ्रेको होइन ? आखिरी कथित १२ बुँदेको जामा लगाएर, १२ बुँदेबाट एमसीसीबाट नेपाल राष्ट्रलाई पर्ने असरबाट १२ बुँदेले चोख्यायो भनेर छल, कपट गरेर, षड्यन्त्र गरेर, अमेरिकी साम्राज्यवादको पासो नेपाली जनतालाई बोकाएको हो कि होइन ?

चिनसँग सैद्धान्तिक, राजनीतिक रुपमा हाम्रो पनि केही असहमती छ । नेपालको सन्दर्भमा यदि त्यो बिआरआईको ऋण चर्को ऋण हो भने यतिबेला एमसीसीलाई बलियो बनाउँदै लाने । एमसीसी भनेको नेपाललाई इण्डोप्यासिफिक रणनीतिभित्र सामेल गरेको होइन ? अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन ? यो कुरा बुझ्दैनौँ हामीले ? त्यसकारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताधारीहरुले जुनखालको राष्ट्रघात गरिराखेका छन्, यसमा एमसीसी र बिआरआई बिचको अन्तर के हो ?

त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ । गुमराह गरेर एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीन विरोधी अखडा नेपाललाई अमेरिकाले गराउने षड्यन्त्रमा नेपाली जनता सजग हुनुपर्छ । बिआरआईको पैसाले हो २४ खर्ब नेपालीले ऋण लागेको टाउकोमा ? यसमा स्पष्ट पार्नुपर्छ । बिआरआईको माध्यमबाट नेपालमा जसरी चीन आउन खोजेको छ, एमसीसी र बिआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन ।’