४ आश्विन २०८१, शुक्रबार 1726866727
Banner

रारा तालमा डुबेर एकजनाको मृत्यु

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एकजनाको मृत्यु भएको छ। रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छायाँनाथ रारा नगरपालिका ५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्थे। अरु चार साथीसँग घर फर्किने क्रममा तालको छेउमा पौडी खेल्दा उनको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो। रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो। घटनाको मुचुल्का पछि शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।