४ आश्विन २०८१, शुक्रबार 1726824763
Banner

बाढीपहिरो लगायत विपद्‍मा परी हालसम्म ८० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि मंगलबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्‍मा परी ८० जनाको मृत्यु भएको हो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कोशी प्रदेशमा १९ जना, र सुदूरपश्चिम प्रदेशमा ७ जना, बागमती प्रदेश र कर्णाली प्रदेशमा ४–४ जना र मधेश प्रदेशमा ३ जना र काठमाडौं उपत्यकामा १ जना गरेर जम्मा ८० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशमा २६ जना, कोशी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा १५ जना, सुदूरपश्‍चिम प्रदेशमा ११ जना, मधेश प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४ जना र काठमाडौं उपत्यकामा ३ जना गरी जम्मा ९७ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

साथै, कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५ जना बेपत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

बाढीको कारण जम्मा १६१ घर डुबानमा परेका प्रहरीले जनाएको छ । जसमा १३८ घर, ५४ वटा गोठ, ४१ वटा पुल, २ वटा सरकारी कार्यालय र एउटा विद्यालयमा क्षति पुगेको छ । यस्तै, ३८४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार ७६४ घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाइएको छ ।