२ कार्तिक २०८१, शुक्रबार 1729262380
Banner

आज मुलुकले नयाँ प्रधानमन्त्री पाउँदै, एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बन्दै

काठमाडौँ ।आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ।  मुलुकको प्रमुख कार्यकारी पदबाट विमुख भएको ठिक तीन वर्षपछि असारकै अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली आज चौथौपल्ट  ४५औँ  प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ ग्रहण सोमबार बिहान ११ बजे हुने बताइएको छ । नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आइतबार साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण पर्सिलाई तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

असार १७ गते राति भएको सात बुँदे सहमतिले काँग्रेस–एमालेविच छैठौं सत्ता सहकार्यको ढोका खोलेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत नपाएर पदमुक्त भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई सँगै लिएर एमाले अध्यक्ष ओलीले दाबी पेस गर्नुभयो । अध्यक्ष ओलीले कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कांग्रेस–एमाले समीकरणलाई दुई दलबाहेक जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन जनाएका छन् । समर्थन जनाउने पाँचै दललाई सरकारमै सहभागी गराएर प्रत्येक दललाई एक एक मन्त्रालय दिन कांग्रेस एमालेबीच समझदारी भएको बताइएको छ । कांग्रेस र एमालेसहित सात दल सहभागी हुँदा सरकारको पक्षमा दुई तिहाइभन्दा बढीको समर्थन पुग्नेछ ।

अब राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्री नियुक्ति र त्यसपछि लगत्तै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस(एमालेका नेताहरुले बताएका छन् । राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि दिएको तीन दिनको समयसीमा आज अपरान्ह ५ बजे सकिदैछ । संसदका प्रमुख दुई दल काँग्रेस र एमालेविचको पछिल्लो राजनीतिक सहकार्यको प्रतिफल एमाले अध्यक्ष ओली मुलुकको प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री हुन लाग्नु भएको हो । यसअघि नेता ओली पहिलो पटक २०७२ असोज २४ गते र दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो । २०७८ बैशाख ३१ गते ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनु भयो । तेस्रो पटक ओलीले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले फेरि प्रधानमन्त्रीको पदभार ग्रहण ग्रहण गर्नु भएको थियो । २०७८ असार २८ गते अदालतको परामादेश सँगै विघटित संसद पुनर्थपना भयो । नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा प्रधानमन्त्री बन्नु भयो । तेस्रो पटको कार्यकाल दुई महिना मात्र रह्यो ।

काँग्रेस(एमाले बिच यसअघि पटक–पटक सत्ता सहकार्य भइसकेको छ । मुलुकमा भएको ठूला राजनीतिक परिवर्तनमा यसअघि दुई दलविच पाँच पटक सहकार्य भएको इतिहास छ । पहिलो पटक वि.सं. २०५५ र दोस्रो पटक २०६१ मा काँग्रेस–एमालेविच सत्ता सहकार्य भएको थियो ।

२०६३ वैशाख १२ गते गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम संविधानअनुसार बनेको सरकारमा पनि एमाले सरकारमा सहभागी भएको थियो । चौथो पटक सत्ता सहकार्य २०६६ जेठमा भएको थियो । काँग्रेसको प्रस्तावमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री हुनुभएको थियो । संविधानसभाबाट नयाँ संविधान जारी गर्नेगरी २०७० माघ २७ गते सुशील कोइराला प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभयो । ७० को आमचुनावपछि सरकारको आलोपालो गर्ने गरी कांग्रेस र एमालेबीचमै समीकरण बनेको थियो । दुई दलविच यो पाँचौँ सत्ता सहकार्य थियो । सोही सरकारले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको थियो ।

संविधान जारी गर्नेबेला काँग्रेस नेतृत्वमा सरकार बनाउने र कार्यान्वयनका बेला एमालेलाई सरकारको नेतृत्व दिने दुई दलविच सहमति बनेको थियो । तर पछि दुई दलविच कुरा नमिलेपछि सहमति कार्यन्वयन भएन । संसद्को हालको गणितले निम्त्याएको अस्थिरता र अनिश्चितताको भुमरीका बीच हुन लागेको यो छैटौं सत्ता सहकार्यलाई धेरै महत्वका साथ हेरिएको छ । नेपालको संविधान–२०७२ जारी गर्दा कांग्रेस र एमाले एउटै सरकारमा थिए । संविधान निर्माणको एक दशकपछि पहिलो पटक संविधान संशोधन र राजनीतिक स्थिरताको विषय उठाउदै कांग्रेस–एमाले फेरि एकै ठाउँमा उभिएका छन् । यस अर्थमा यो सहकार्यको परीक्षा सुरु भैसकेको छ अब पर्खाइ छ नतिजाको ।