८ मंसिर २०८१, शनिबार 1732385165
राजनीति

आज ४६ औं पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रममा तत्कालीन निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापना तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उहाँको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ ।

यस्तै, विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराइने जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । शान्तिपूर्ण आन्दोलनका साथै सशस्त्र सङ्घर्ष, कम्युनिष्ट पार्टीमा आएका विभाजन, कम्युनिष्ट एकताका प्रयास, कम्युनिष्ट नेतृत्वको सरकारले गरेका काम र जनमुखी कार्यक्रमबारे कार्यपत्रमा समेटिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो ।

जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

विसं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उहाँकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।