३ आश्विन २०८१, बिहिबार 1726782572
अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको शिक्षामा लगानी, १ अर्ब ३३ करोडमा किन्यो प्रोफेसनल र युनिग्लोबको सेयर

काठमाडौं । जीवन बिमा व्यवसायमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शिक्षामा लगानी गर्ने भएको छ ।

नेपाल लाइफले दुईवटा शैक्षिक संस्थामा सवा अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने भएको छ । नेपाल लाइफले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हाइयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडको सेयर कूल १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार रुपैयाँमा खरिद गर्ने भएको हो ।

जसअनुसार नेपाल लाइफले प्रोफेसनल एजुकेटर्सको ३५.३२ प्रतिशत स्वामित्व ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँमा खरिद खरिद गरेको छ ।

यस्तै युनिग्लोबल हाइयर सेकेन्डरी स्कुलको ४७।६२ प्रतिशत स्वामित्व ६० करोड रुपैयाँमा खरिद गर्ने नेपाल लाइफले जनाएको छ । प्रोफेसनल र युनिग्लोबको स्वामित्व खरिदका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणको स्वीकृति दिएको छ । बिमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आइतबार बसेको ३ सय ८२ औं सञ्चालक समिति बैठकले दुई संस्थाको स्वामित्व खरिद गर्ने निर्णय गरेको हो ।

लगानीसम्बन्धी सम्झौतामा आइतबार ग्लोबल ग्रुपका अध्यक्ष डा. खगेन्द्र ओझा र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविणरमण पराजुलीले सेयर लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रोफेसनल एजुकेटर्सअन्तर्गत आधा दर्जन कलेज सञ्चालनमा छन् । प्रोफेसनल एजुकेटर्स सन् २००६ मा स्थापना भएको शैक्षिक संस्था हो । प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल र कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज सञ्चालनमा छन् ।

डा. खगेन्द्र ओझाले स्थापना गरी नेतृत्व गरिरहेको ग्लोबल कलेज र युनिग्लोब कलेज नेपालमा व्यवस्थापन र विज्ञान विषयको उच्च शिक्षाका लागि नामुद कलेज मानिन्दै आएका छन् ।

प्रोफेसनलको साधारण सेयर (आइपिओ) जारी गर्ने सर्तसहित नयाँ लगानी भित्राइएको बताइएको छ । आइपिओ निष्कासन गर्न कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । नेपाल लाइफको लगानी भएपछि ग्लोबल ग्रुप अझ बलियो हुने भएको छ ।