९ मंसिर २०८१, आइतबार 1732442744
अर्थ

भेडेटारमा स्काइ टावर सञ्चालन

धनकुटा ।  भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पाकसर्् एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो । 

टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । मन्त्री कार्कीले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष, २०८२’लाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास गर्नुभयो । भेडेटार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन बिकासमा प्रदेश सरकार  लागेको उहाँको भनाइ थियो । 

धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले यस आयोजनाले धरान र धनकुटामा पर्यटक बढाउने बताउनुभयो । यस परियोजनाले गाउँपालिका र भेडेटारको मात्र नभई कोशी प्रदेशकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले व्यक्त गर्नुभयो । 

धनरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिनुभयो ।

आगामी दिनमा यस टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिनुभयो ।