९ मंसिर २०८१, आइतबार 1732433047
Banner

भारतको टेक्नो इलेक्ट्रिकलाई एमसिसीको ४०० केभी दमौली सबस्टेशन बनाउन जिम्मा

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता आज सम्पन्न भएको  छ ।

यो सम्झौतासँगसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग गत जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ । उक्त नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनले पाइसकेको छ । यो सबस्टेशन टेक्नोले ५ करोड १६ लाख अमेरिकी डलरमा निर्माण गर्नेछ । उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर ९जिआइएस० सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिनेछ ।

यस्तै लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिंकसन इण्डिया प्रालिले पाएको छ ।

अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै बाँकी २ सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि यसैवर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसिए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

एमसिसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३ सय १५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, एमसिए–नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसीसी र एमसिए–नेपालका अधिकारीको समुपस्थितिमा आज आयोजित एक समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे ।

अमेरिकी राजदूत थम्प्सनले भने, “आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसिए–नेपालसँग काँधमाकाँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु ।”

उनले अगाडि थपे, “समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अङ्ग बन्दैछ ।”

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, “एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनै वटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोसेढुङ्गा हो । यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्वपूर्ण सरोकारवाला निकाय अर्थ मन्त्रालय, एमसिए–नेपाल सञ्चालक समिति, नेपाल विद्युत् प्राधिकरण तथा एमसीसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु ।”