६ आश्विन २०८१, आइतबार 1727003288
समाचार

सानो प्रयासले विपद्बाट हुने जनधनको क्षति कम गर्न सकिन्छः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको सानो प्रयासले बाढीपहिराबाट हुने जनधनको क्षति कम गर्न सकिने बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान नीति-२०८१ को मस्यौदाबारे आज मन्त्रालयमा छलफल गर्दै उहाँले जलवायु परिवर्तनका कारण बाढीपहिरो जाँदा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसलाई रोक्नका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो । “हामीले जल तथा मौसमका क्षेत्रमा पूर्वसूचना दिँदा बाढीपहिरो तथा विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई कम गर्न सक्छौँ”, उहाँले भन्नुभयो । जल तथा मौसम पूर्वानुमानको क्षेत्रमा सानो प्रयासले ठूलो काम हुने भएकाले त्यसतर्फ लाग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले जल तथा मौसमका क्षेत्रमा आवश्यक ऐन, कानुन, नीति, नियम निर्माणलाई उच्च प्राथमिकता राख्नुपर्ने बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव कमलराम जोशीले सन् २०२७ मा सबै जनतामा जल तथा मौसमसम्बन्धी पूर्वसूचना पु¥याउनुपर्ने भएकाले जल तथा मौसम विज्ञान नीति-२०८१ लाई चाँडो पास गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले जल तथा मौसमको पूर्वानुमानलाई व्यवस्थित र भरपर्दो बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

हाल जल तथा मौसम विज्ञान विभागले तीन दिन अगाडि पूर्वसूचना दिने गरेपनि आगामी दिनमा त्यसको समयलाई बढाउनुपर्ने आवश्यक रहेको उहाँको भनाइ थियो । जल तथा मौसम विज्ञान विभागले हाल देशभरका आठ सय जल तथा मौसम मापन केन्द्रमार्फत पूर्वसूचना लिने गरेको छ ।