८ आश्विन २०८१, मंगलबार 1727187643
समाचार

निजी क्षेत्रमैत्री कानून निर्माणमा सांसदको जोड

काठमाडौँ, २ भदौः सांसदहरुले निजी क्षेत्रमैत्री नीति निर्माणमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गर्नेमा उहाँहरुले प्रतिबद्धता जनाउनुभएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकार गठन भएयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको समेत बताउनुभयो । “निरन्तर निजी क्षेत्रसँग निरन्तर संवाद जारी छ । उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “समस्या समाधानका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको छ ।” उहाँले सरकारले निर्माण गर्ने कानुन पनि एकोहोरो ढङ्गको नहुने भन्दै निजी क्षेत्रमैत्री नै हुने उहाँको भनाइ थियो । त्यसअवसरमा महासङ्घका तर्फबाट संसदमा बिचाराधीन र निजी क्षेत्र सम्वद्ध करिब डेढ दर्जन कानुनमा आवश्यक सुधारसम्बन्धमा बुँदागतरुपमा प्रस्तुतीकरण दिइएको थियो । विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संशोधनले वातावरण तयार पारेको बताउनुभयो । उहाँले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरुको दर्ता हुने क्रम बढेको जानकारी दिनुभयो । उहाँले महासङ्घले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झाइरहेको धारणा राख्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसदमा बिचाराधीन विद्युत् र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउनेमा प्रतिबद्धता जनाउनुभयो । उहाँले निजी क्षेत्रको लगानी बढाउने र प्रसारणलाइनलगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा पनि सरकारले छलफल गरिरहेको वताउनुभयो । सङ्घीय संसद् प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा छलफल भइरहेको उल्लेख गर्दै बृहत् छलफल पनि मात्रै निर्णय गरिने बताउनुभयो । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको वताउनुभयो । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्वाध काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक गतिविधि बढाउनका लागि पार्टी निजी क्षेत्रको साथमा रहने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले निजी क्षेत्रलाई सम्मानजनक व्यवहार आवश्यक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराउनुभयो । “निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखिरहेका छौँ त्यसैले कानुनसम्मत व्यवसाय गर्दा अवरोध हुनुहुँदैन”, उहाँले भन्नुभयो । उहाँले लगानी र उत्पादन निरुत्साहित हुने गरी कानुन निर्माण हुन नहुनेमा जोड दिनुभयो । त्यस अवसरमा एक सयभन्दा बढी सांसदहरु उपस्थित हुनुहुन्थ्यो ।