८ आश्विन २०८१, मंगलबार 1727230759
Banner

सडक माथिबाट खसेको ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

हेटौँडा । पूर्वी मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर विद्यार्थीको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किँदै गर्दा बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुङ्गाले लागेर ८ वर्षीया सुष्मा थिङको मृत्यु भएको हो ।

बकैया गाउँपालिका–६, साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत छात्रा थिङको बिहीबार साँझ विद्यालयबाट घर फर्कने क्रममा बाटोमा ढुङ्गाले लागेर मृत्यु भएको थियो । घरबाट विद्यालय पुग्न झन्डै २ घण्टा लाग्ने वडा अध्यक्ष फुलबहादुर बोम्जनले जानकारी दिनुभयो । दिदी र साथीहरूसँग घर फर्किँदै गरेकी थिङको टाउको र खुट्टामा चोट लागेको थियो । बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारीमा प्रहरी निरीक्षक सहितको टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।