७ आश्विन २०८१, सोमबार 1727097400
समाचार

मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

बाह्रबीसे (सिन्धुपाल्चोक) १२ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले दुई महिनाभित्र विद्युत् उत्पादन हुनेगरी आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो । “आयोजना निर्माणका क्रममा देखिएको समस्या समाधानमा मन्त्रालयले काम गर्छ, तपाईंहरू दिनरात नभनी आयोजना सम्पन्न गर्न लाग्नुहोस्”, उहाँले भन्नुभयो । ऊर्जामन्त्री खड्काले मध्यभोटेकोसी जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके देशले आर्थिक उन्नतिका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने बताउनुभयो ।

मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव सन्दीप देवलगायतले पावरहाउस तथा सवस्टेशनको निरीक्षण गर्नुभएको थियो । चिलिमे जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी तथा जनताको शेयर रहेको उक्त आयोजनाको लागत २० अर्बभन्दा बढी रहेको छ ।

कूल १०२ मेगावाट क्षमताको उक्त आयोजना सन् २०१२ बाट निर्माण सुरु भएको थियो । मध्यभोटेकोसी नदीबाट कूल सात दशमलव एक किलोमिटर मुख्य टनेल हुँदै पावरहाउसमा पानी ल्याइएको छ ।

उक्त पावरहाउसबाट उत्पादित विद्युत् २२० केभीको ट्रान्समिसन लाइनमार्फत चार किलोमिटर सिङ्गल सर्किट हुँदै बाह्रबीसे सवस्टेशनमा लगेर जोडिनेछ ।