३ आश्विन २०८१, बिहिबार 1726784131
अर्थ

टान निर्वाचनमा पाण्डे समूहको उम्मेदवारी

काठमाडौँ, १५ भदौ : मुलुकको पर्यटन क्षेत्रको विकासका लागि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)लाई सक्षम र पर्यटन क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोढ दिइएको छ । टान निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी सागर पाण्डेको समूहले आज आयोजना गरेको ‘बृहत् व्यवसायी भेला’मा सरोकारवालाले संस्कृति, प्रकृति र साहसिक पर्यटनमार्फत देशको विकास गर्नुपर्ने बताएका हुन् । पूर्वपर्यटनमन्त्री बलबहादुर केसीले टानलाई व्यवसायीको साझा संस्था बनाउनुपर्नेमा पछिल्लो समय राजनीति हुँदै गएकामा भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले टानमा इमान्दारपूर्वक नेतृत्व गर्ने व्यवसायीको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा पूर्वपर्यटनमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन किरातीले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले पर्यटन क्षेत्रको समस्या समाधान गर्न राजनीतिक व्यक्तित्वभन्दा व्यावसायिक नेतृत्वलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटक बोक्ने साधन नहुँदासम्म पर्यटन क्षेत्रको विकास हुन नसक्ने भएकाले नेपाल एयरलाइन्सको क्षमता विस्तार गर्न जरुरी रहेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषिराम भण्डारीले मासिँदै गएका नेपालका पदमार्गलाई जोगाउन सबै व्यवसायी लाग्नुपर्ने बताउनुभयो । डेनमार्कका लागि नेपाली वाणिज्यदूत हरि धरेलले टानलाई राजनीतिबाट मुक्त बनाउन लाग्नुपर्ने बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले व्यावसायिक संस्थालाई अगाडि बढाउन राजनीतिक नभई व्यावसायिक नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले नेपाल एयरलाइन्सको क्षमता विस्तार नभएसम्म दिगो पर्यटनको कल्पना गर्न नसकिने बताउनुभयो । टान अध्यक्षका उम्मेदवार सागर पाण्डेले सवल, सक्षम टान निर्माण गर्ने, टान अक्षयकोष स्थापना गर्न, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्न आफूले उम्मेदवारी लिएको बताउनुभयो । उहाँले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधान गर्ने उल्लेख गर्नुभयो । यस्तै, पर्यटक सवारीसाधान खरिदमा भन्सार छुटको व्यवस्थाको पहल गरी कार्यान्वयन गराइने, वैकल्पिक पदमार्गको डिपिआर तयार गरिने, पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता दिइने बताउनुभयो । अध्यक्ष पाण्डेले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकमा राखेर उठान गरिने, पर्यटन ऐनलाई समयसापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’को विकास गरिने, अन्तर्राष्ट्रियस्तरका विभिन्न ट्रेनिङ कोर्षलाई सञ्चालन गरिने, पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गरिने बताउनुभयो ।

यस्तै, पर्यटनसँग सम्बन्धित अन्य सङ्घसंस्थासँग सहकार्य गरिने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायसँग सहकार्य गरिने, कानुनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गरिने, पर्यटन बोर्डमा पर्यटन सङ्घसंस्थाको प्रतिनिधित्व हुने व्यवस्था गरिने, टानको विधान समयसापेक्ष संशोधन गरिने, टान नेतृत्वका हाल सञ्चालनमा रहेका प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ । देशभर दुई हजार चार सयभन्दा बढी ट्रेकिङ कम्पनी दर्ता भई सञ्चालनमा रहेका छन् । कम्पनी दर्ता गरी टान निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरूको सङ्ख्या एक हजार तीन सय ९७ रहेको छ । यी मतदाताले सन् २०२४ देखि २०२६ सम्मका लागि आफ्नो छाता सङ्गठनको नेतृृत्व चयन गर्न लागेका हुन् ।