८ कार्तिक २०८१, बिहिबार 1729808023
Banner

धुलिखेल-खावा सडक दैनिकजसो अबरुद्ध

काभ्रे- वर्षाका कारण सडक हिलाम्मे भएकापछि अरनिको राजमार्ग अतरगत धुलिखेल-खावा सडक दैनिकजसो अबरुद्ध हुदाँ यात्रुहरुले कष्टकर यात्रा गर्न बाध्य छन् ।

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको काम समयमै सम्पन्न नहुदाँ यात्रुहरुले दिनहुँ सास्ती खेपिरहेका छन् । हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरुले कष्टकर यात्रा गर्न बाध्य हुन् ।

धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी-पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको छ ।

सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी-पार्वती निर्माण सेवा प्रा.लिबिच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो । चार किलो मिटर सडकखण्डमध्ये दुई कि.मि. सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार, ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको हुनाले यसलाई फेरि दोहोर्‍याएर गर्नुपर्ने देखिएको छ ।

३० करोड ७८ लाख २ हजार ३० रुपैंयाको लागतमा उक्त सडक खण्डको बिस्तार तथा स्तरोन्नतीको कार्यलाई गौरी-पार्वती निर्माण सेवा प्रा.लिले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैंयामा ठेक्का सम्झौता गरेको थियो ।

नेपालको उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ । वर्षाले गर्दा अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड हिलाम्मे भएपछि सवारीहरु बीच बाटोमै रोकिने गरेका छन् ।