३ आश्विन २०८१, बिहिबार 1726782574
पालिका

भौतिक पूर्वाधार निर्माणदेखि खानेपानी समस्या समाधानमा काम गरेका छौँ : वडाध्यक्ष दिपेन्द्र केसी

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र केसीले वडाभित्र भौतिक पूर्वाधार निर्माणदेखि धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिएको बताएका छन् । ‘बाटो बनाउनेदेखि यहाँभित्र रहेका मठमन्दिरको संरक्षण र प्रवद्र्धन गर्ने काममा ध्यान दिएका छौँ,’ उनले भने, ‘केही मन्दिरको पुनर्निर्माण पनि गरेका छौँ ।’

विद्यालयमा तत्काल आवश्यकता परेका विषयलाई सम्बोधन गरेको बताएका उनले डुबानबाट जोगाउन खोला सरसफाइलाई पनि प्राथमिकताका साथ काम गरेको जानकारी दिए । खोला सरसफाइ गरेकै कारण यस वर्षको बर्खामा आफ्नो वडा डुबानमा नपरेको उनको भनाइ छ ।

नयाँ बाटो खोल्ने र भएका साघुँरो बाटोलाई विस्तार गर्ने कार्य पनि भएको बताएका उनले भने, ‘नयाँ बाटो बनाएका छौँ । केही बाटोलाई ठूलो बनाएका छौँ । कतै ट्रयाक पनि खोलेका छौँ । बाटो कालोपत्रे गरेका छौँ ।’

स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरेको बताएका वडाध्यक्ष केसीले हेल्थपोष्टलाई सुविधा सम्पन्न कसरी बनाउन सकिन्छ भनेर काम गरेको र स्वास्थ्य शिविर पनि सञ्चालन गरेको जानकारी दिए ।

वडालाई सफा राखेको जानकारी दिएका उनले खानेपानीको भने समस्या रहेको बताए । ‘हाम्रो वडामा त्यति फोहोर देखिँदैन । सफा राखेका छौँ,’ उनले भने, ‘तर, खानेपानीको भने समस्या छ ।’

पहिला एक घर एक धाराअनुसार पानीको समस्या नभए पनि पछिल्लो समय वस्ती बाक्लिँदै जाँदा खानेपानीको समस्या भएको उनले बताए । घनाबस्ती भएसँगै देखिएको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएका उनले आफ्नो वडामा खानेपानीको स्रोत नहुँदा पनि समस्या भएको बताए ।

खानेपानीको समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानीसँग सम्झौता भइसकेकाले अब चाँडै नै खानेपानीको समस्या समाधान हुने उनको विश्वास छ । खानेपानीको पाइप विछ्याइसकेको उनले बताए । दैनिक चार लाख लिटर पानी ल्याउने सम्झौता भएको वडाध्यक्ष केसीले बताए । अहिले बर्खाका कारण केही कामम अवरोध भएको उनले बताए ।