३ आश्विन २०८१, बिहिबार 1726783263
पालिका

सार्वजनिक ५० रोपनी जग्गा संरक्षणमा ल्यायौँ : वडाध्यक्ष वीरेन्द्र प्रजापति

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले ५ नम्बर वडा लिच्छिवीकालीन शहर भएकाले मास्टर प्लान बनाएर काम गर्ने बताए । मास्टर प्लानको काम सकिसकेको भन्दै उनले अब सोहीअनुसार योजना बनाएर काम गरिने जानकारी दिए ।

विभिन्न शिलालेख लगायतमा सुरुको पहिलो मानववस्ती नै आफ्नो वडा पर्ने उल्लेख भएको भन्दै उनले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको उत्खनन र संरक्षण गर्ने काम भइरहेको बताए । यसका लागि पुरातात्त्विक विभागसँग समन्वय गरिएको वडाध्यक्ष प्रजापतिले बताए । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा जीर्णोद्वार गर्दा वास्तविक स्वरुपमा परिवर्तन नगरिने र पहिलो जसरी बनाइएको थियो सोहीअनुसार काम गरिने उनको भनाइ छ ।

पर्यटकीय क्षेत्रलाई पनि व्यवस्थित गर्दै आन्तरिक र बाह्य पर्यटकको आकर्षक केन्द्र बनाउने गरी काम भइरहेको उनको भनाइ छ । यी सबै विषयलाई समेटेर मास्टर प्लान बनाएको र सोहीअनुसार योजना बनाएर काम गरिने उनले बताए ।

वडावासीको चाहना र मागअनुसार आफूहरुले काम गर्ने भन्दै उनले मठ मन्दिरको संरक्षण तथा प्रवद्र्धन गर्ने काम भइरहेको बताए । साथै पहेंलो पुलमा खेलकुद मैदान बनाउन लागेको बताएका वडाध्यक्ष प्रजापतिले सानो गौचरणलाई पुनर्निर्माण कार्य भइरहेको बताए ।

सार्वजनिक जग्गाको संरक्षण कार्यलाई पनि वडाले प्राथमिकता दिएर काम गरेको जानकारी दिएका उनले हालसम्म करिब ५० रोपनी जग्गा वडाको संरक्षणमा ल्याएको बताए । जसमध्ये व्यक्तिको नाममा गएको ६ रोपनी जग्गा राज्यको मातहतमा ल्याएको उनले बताए । जनताको खासै गुनासो नसुनिएको भन्दै उनले जनताबाट गुनासो नआउने गरी काम गरेको बताए ।