३० आश्विन २०८१, बुधबार 1729089488
खेलकुद

एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत दिएको छ । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् ।

पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । पछिल्लो समय उनले नेपाली राष्ट्रिय टोली सम्हाल्दा नेपाली टिम विभाजित अवस्थामा थियो । त्यो अवस्थामा उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएर क्यानडा फर्किएका थिए ।

क्यानडा फर्किने क्रममा उनले नेपाली क्रिकेटको परिस्थिति फेरिएमा र आफूले खुलेर काम गर्न पाएमा फेरि नेपाल फर्किने बताएका थिए । अन्ततः उनले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएलमा जनकपुर बोल्ट्सका खेलाडीलाई प्रशिक्षण दिने छन् । एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।