५ कार्तिक २०८१, सोमबार 1729557004
Banner

‘स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ’ : मन्त्री लामा

बागमती : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको बताउनुभएको छ । आज हेटौँडामा आयोजित प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । “बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु खाने, अव्यवस्थित जीवन पद्दति अवलम्बन गर्दा स्वास्थ्य समस्या हुन्छ । त्यसैले दैनिकी, खानपानलगायत स्वास्थ्य बन्ने कुरामा सचेत गराउने तथा स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारेका छौँ ।

यसमा सबैको सहयोग आवश्यक छ”, उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सङ्घीयता लागू भएपछि स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको बताउनुभयो । उहाँले अस्पताल प्रदेश सरकार मातहत आएपछि प्राविधिक तथा जनशक्तिमा समेत सुधार गरी सेवा प्रवाहलाई चुस्त बनाइएको उहाँले जिकिर गर्नुभयो । स्वास्थ्यमन्त्री मगरले समीक्षा गोष्ठीसँगै गतवर्षको भएका कमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले स्वास्थ्य क्षेत्रको सुधारका लागि कर्मचारी, स्वास्थ्यकर्मी र राजनीतिक नेतृत्वलगायत सबै जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । गोष्ठीमा प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।