८ कार्तिक २०८१, बिहिबार 1729771513
विश्व

फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु

कात्तिक ७ गते । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थाति भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् । पूरै गाउँ डुबानमा छन् ।

उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेको प्रहरीले बताएका छन् । राजधानी मनिलाबाट करिब चारसय किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको प्रहरीले जनाएको छ । “हामीले प्रहरी उद्धार टोलीहरू पठाएका थियौँ तर उनीहरूलाई केही क्षेत्रमा प्रवेश गर्न कठिनाइ भएको थियो” क्षेत्रीय प्रहरी प्रवक्ता लुइसा कालुबाकिबले भन्नुभयो ।

नागाको बिकोल सहरमा बाढीमा डुबेर ११ जनाको मृत्यु भएको स्थानीय प्रहरी प्रमुख इर्विन रिबेलियनले बताउनुभयो । राजधानीको दक्षिणपूर्व क्वेजोन प्रान्तमा एक वृद्धाको डुबेर मृत्यु भएको छ । एक बालकको पनि बाढी आएको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनिलाको सिभिल डिफेन्स अफिसले रुखको हाँगाबाट खसेर एक जनाको मृत्यु भएको जनाएको छ । बेलुका ८ बजेसम्म आँधीको केन्द्र लुजोनको इसाबेला प्रान्तबाट एकसय ५० किलोमिटर पूर्वमा रहेको थियो र अधिकतम निरन्तर हावा ९५ किलोमिटर प्रतिघन्टासम्म बढेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ ।

यो रातिको समयमा इसाबेलाको तटमा ठोक्किने अपेक्षा गरिएको थियो । यो टापू पार गरेर दक्षिण चीन सागरमा जाँदा थोरै कमजोर हुँदै गएको थियो । विगत २४ घण्टामा यस क्षेत्रमा पाँचसय मिलिमिटरभन्दा बढी वा एक महिनाभन्दा बढीको वर्षा भइसकेको छ । रासस, एएफपी