९ कार्तिक २०८१, शुक्रबार 1729879947
Banner

रवि जोडिएको अर्को सहकारी सुप्रिम ठगी अनुसन्धान गर्न सीआईबीको टोली बुटवलमा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बुटवल पुगेको छ। सीआईबीका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा टोलीले सुप्रिम सहकारीको पूरक जाहेरीमा अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। mगत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका हुन्। पूरक जाहेरीपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। बिहीबार जिल्ला अदालत रुपन्देहीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। अदालतले छविलाल जोशी, दीपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरूविरुद्ध सुप्रिम सहकारी ठगीमा पनि मुद्दा अगाडि बढ्ने निश्चित भएको हो। पोखराको सूर्यदर्शन सहकारी ठगीमा छविलाल जोशी र रवि लामिछानेविरुद्ध पनि अनुसन्धान भइरहेको छ। कास्कीमा पक्राउ परेका जोशीलाई बुटवल लगेर प्रहरीले पहिलो चरणको बयान गराइसकेको छ। लामिछानेलाई पनि बुटवल लैजाने प्रहरीको तयारी छ। पोखरामा पनि पुरक अनुसन्धानमा सहयोग गर्न भन्दै सीआईबीको टोली खटाइएको छ। सुप्रिममा पनि पठाइसकिएको हो। रवि र छविलाई सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। अरु आरोपित भने बैंकिङ कारोबारमा हस्ताक्षर गर्नेहरू हुन्। रवि र छविविरुद्ध यस्तै कसुरमा चितवनको सहारा, वीरगन्जको साना पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा पनि अनुसन्धान अगाडि बढाउने तयारी छ।