१२ कार्तिक २०८१, सोमबार 1730146981
समाज

कृषि उपकरणको प्रयोगले किसानलाई सहज

घोराही (दाङ) : दाङमा कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज भएको छ । उत्पादन समेत बढेको छ । खेती गर्न जनशक्ति, लागत र समय कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषि उपकरणको प्रयोग बढ्दै जान थालेको छ । कृषि व्यवसाय गर्नेको सङ्ख्यामा कमी आएको समयमा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको राजपुर गाउँपालिका–६ गङ्गदीका किसान निमराज चौधरी बताउनुहुन्छ । सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेको बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उहाँ बताउनुहुन्छ । जोत्नेसँगै धानलगायतका अन्यबाली दाउँनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिने बनाएको चौधरी बताउनुहुन्छ । आधुनिक तरिकाले खेती गर्दा सहज भएको उहाँको भनाइ छ ।

थोरै खेती गर्दा पनि वर्षभरी खान पुगेको अनुभव उहाँको छ । चौधरीले भन्नुभयोे, “अहिले प्रविधिको प्रयोगले खेती गरिदिने व्यक्ति खोज्नुपर्ने बाध्यता हटेको छ, गाउँमा पछिल्लो समय गोरु पाल्न छोडिसकेका छन् । तर प्रविधिको सहयोगले खेतबारी जोत्नेदेखि दाउनेसम्म व्यवस्था भएपछि अहिले धेरै राम्रो भएको छ ।” राजपुर गाउँपालिका–६ गङ्गदीमा रहेको बड्का बगिया कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका चौधरीले कृषि सहकारीले पनि विभिन्न कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएको बताउनुभयो । विगत केही वर्षयता ट्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दै आएको राजपुर गाउँपालिका–५ सालभौरीका गोविन्द चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सानो परिवारमा खेती गर्न समस्या हुने गरेको थियो । तर प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउने समेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ ।” उहाँका अनुसार कृषियन्त्रको प्रयोगले पछिल्लो समय आफूजस्ता गाउँभरका किसानलाई सहजता भएको बताउनुभयो । कृषि सहकारीले पनि ५० प्रतिशत अनुदानमा कृषि उपकरण, बीउ विजनसमेत प्रदान गर्दा सहज भएको चौधरी बताउनुहुन्छ ।

कृषिमा काम गर्ने व्यक्तिको अभावमा खेतबारी बाझो भइरहेको समयमा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको उहाँले बताउनुभयो । चौधरीले भन्नुभयो, “गाउँमा जोत्नका लागि गोरु छैनन्, । त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि देश बाहिर छन् । यसले अधिकांशको खेतभरी बाझै रहने अवस्था थियो । तर गाउँमा जोत्न ट्र्याक्टर र दाउन थ्रेसर भएपछि अधिकांशले खेती गर्ने गरेका छन् ।” धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्ने गरेको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्ने गरेको थियो । तर अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ । बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ ।” बड्का बगिया कृषि सहकारी संस्थाका कृषि प्राविधिक कृष्णा चौधरीले कृषियन्त्रको प्रयोगले किसानलाई सहज भएको बताउनुभयो । कम जनशक्तिले पनि धेरै उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । सहकारीमार्फत पनि कृषिसम्बन्धी विभिन्न चेतनाका कार्यक्रमसँगै कृषियन्त्र, मल, बीउलगायत किसानलाई ५० प्रतिशत अनुदानमा दिँदै आएको चौधरी बताउनुहुन्छ ।