८ मंसिर २०८१, शनिबार 1732413266
Banner

वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव

वीरगञ्ज (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । मन्त्री यादवले आज यहाँ कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै कैदी बन्दीहरुको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने बताउनुभयोे । “कैन्दीबन्दीसँगको छलफलको क्रममा शौचालय र खानेपानीको समस्याको विषयमा अवगत गराउनुभएको छ । यी दुवै काम खानेपानी मन्त्रालय मातहत पर्ने भएकाले सोको आवश्यक व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छु, उहाँले भन्नुभयो, ‘‘कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युत्को समस्याको विषयमा भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।”

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले कारागार सुधार गर्नका लागि महानगरले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “महानगरले महिला कैदीबन्दीहरुको स्वास्थ्य र सरसफाइलगायत आधारभूत आवश्यकता पूरा गर्नका लागि सहजीकरण गर्नेछ,” उहाँले भन्नुभयो । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले पनि प्रहरीको जिम्मेवारी सुरक्षाको साथसाथै कैदीहरुको मानवअधिकारको प्रत्याभूति गराउने रहेको जानकारी दिनुभयो । कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख विनय श्रीवास्तवले कारागारको विषयमा आवश्यक जानकारी गराउनुभएको थियो ।