६ मंसिर २०८१, बिहिबार 1732203173
पर्यटन

आगामी डिसेम्बर अन्तिम साता पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

लन्डन- नेपालमै पहिलो पटक सुन्दर पर्यटकीय नगर पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएको छ । पोखरामा विगत ६ वर्षदेखि हट एअर बेलुन सञ्चालन गर्दै आएको बेलुन नेपालको आयोजनामा आगामी डिसेम्बर अन्तिम साता महोत्सव तयारी गरिएको छ । बुधवार बेलुका आयोजक बेलुन नेपाल र इभेन्ट संयोजक करिज्माटिक इभेन्टका प्रतिनिधिले लन्डन ब्ल्याकहिथस्थित एभरेस्ट इन रेस्टुरेन्टमा बेलायतको नेपाली समुदायका अगुवाहरूमाझ महोत्सवबारे जानकारी गराइएको थियो । डिसेम्बर २४ तारिखबाट सुरु हुने ९ दिने महोत्सव जनवरी १ तारिख अङ्ग्रेजी नयाँ वर्षका दिन समापन हुनेछ ।

महोत्सवको संयोजक कम्पनी करिज्म्याटिक इन्टरटेनमेन्टका प्रमुख सुरेश तुण्डकारले नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बेलुन महोत्सव सफल बनाउन तीव्र तयारी भइरहेको जानकारी गराउनुभयो । महोत्सवमा नेपालसहित विभिन्न २०  भन्दा बढी मुलुकबाट १ लाख ५० हजार बढीको सहभागिता अपेक्षा गरिएको छ। ५ सय रोपनी क्षेत्रफलमा आयोजना हुने महोत्सवका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ३० भन्दा बढी हट एअर बेलुनहरू व्यवस्था गरिएको छ ।

महोत्सवमा हट एअर बेलुन उडानका लागि बेलायत, स्पेनसहित युरोपेली देशहरूबाट समेत दक्ष र अनुभवी बेलुन पाइलटहरू ल्याइने तुण्डकारले जानकारी दिनुभयो । ‘ हेल्थ एण्ड सेफ्टी’ का लागि समेत भरपर्दो प्रबन्ध मिलाइएको भन्दै उहाँले यात्रुको लागि २० हजार डलरको बिमा गराइने जानकारी दिनुभयो । महोत्सवमा खाना, व्यापार तथा खेलकुदलगायतका विभिन्न १ सय बढी स्टल रहनेछन् भने २० भन्दा बढी राष्ट्रिय स्तरका चर्चित कलाकारले मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि दिनेछन् । महोत्सवको ब्रान्ड एम्बेसडरका रुपमा महानायक राजेश हमाल र नायिका प्रियङ्का कार्की रहने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बेलुन नेपालका सह संस्थापक एवम् निर्देशक रहेका बेलायतस्थित व्यवसायी दीपक श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनु महोत्सवको प्रमुख लक्ष्य रहेको बताउनुभयो । महोत्सवले साहसिक पर्यटन गन्तव्यका रूपमा पोखरामा देश विदेशका थप पर्यटकहरू आकर्षित गर्न सफल हुने उहाँले बताउनुभयो । ६ वर्षअघि नेपालमै पहिलो पटक सञ्चालन गरिएको हट एअर बेलुन हालसम्म पूर्ण सुरक्षित रहेको जनाउँदै श्रेष्ठले निर्धक्क बनेर महोत्सवमा सहभागी हुन र बेलुन उडानको आनन्द लिन सबैलाई आग्रह गर्नुभयो। ‘हट एअर बलुन उडाउँदा हामीले यात्रु तथा चालकको सुरक्षालाई उच्च प्राथमिकता दिन्छौँ र नागरिक उड्डयन प्राधिकरणले तोकेका सबै नियमहरू पालना गर्छौँ’, श्रेष्ठले भन्नुभयो।

‘नौ हजार फिटको उँचाइबाट धौलागिरि, माछा पुच्छ्रे, फेवाताल लगायत पोखराको मनोरम दृश्य हेर्न पाइने यो अवसर अविस्मरणीय हुने भन्दै उहाँले’ उक्त फेस्टिभल आयोजना गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, एनआरएनए, पोखरा महानगर लगायतसँग आफूहरूले सहकार्य गरी रहेको जनाउँदै फेस्टिभल सफल पार्न आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो।

सो अवसरमा लन्डन रोयल ग्रिनबिच बरोका मेयर जीत रानाभाट, एनआरएनए आइसिसीका पूर्व अध्यक्ष कुल आचार्य, बिएनसीसी पूर्व अध्यक्ष राजन कँडेल, बिएनसीसी वरिष्ठ उपाध्यक्ष एवम् ट्राभल व्यवसायी बिराज भट्ट, व्यवसायी यादव भण्डारी, वरिष्ठ पत्रकार भगीरथ योगी, पत्रकार महासङ्घ युके पूर्व अध्यक्ष ध्रुवराज अर्याललगायतले महोत्सव सफलताको शुभकामना दिनुभयो । उहाँहरूले बेलुन उडानका लागि भरपर्दो सुरक्षा बन्दोबस्त मिलाएर इच्छुक पर्यटकलाई आश्वस्त पार्न सके महोत्सव सफल बन्ने सल्लाह दिनुभयो ।