९ मंसिर २०८१, आइतबार 1732476556
Banner

राष्ट्रपतिलाई सांसदको सुझाव : कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई उजागर गर्नुस्

काठमाडौं । नेपालमा जलवायु परिवर्तनको असर र यसले पारेको प्रभावबारे चासो राख्दै सक्रिय रहेका सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा नेपालका तर्फबाट राखिनुपर्ने धारणा समेटिएको अनुरोध पत्र बुझाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको समेत उपस्थितिमा सांसदहरूले आगामी जलवायु परिवर्तन सम्मेलन (कोप २९) मा नेपालका तर्फबाट उठान गर्नुपर्ने मुख्य धारणा र मुद्दाबारे पत्र हस्तान्तरण गरेका हुन् । प्रतिनधि सभा सदस्य माधव सापकोटाका अनुसार राष्ट्रिपतिलाई बुझाइएको अनुरोध पत्रमा नेपालले जलवायु परिवर्तनबाट खेप्नु परेको भयावह अवस्थामा हानि नोक्सानी कोषको पहुँचलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ । साथै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई अन्तरााष्ट्रिय स्तरमा उजागर गर्दै पानी, जैविक विविधता, र पर्यावरणीय सेवा प्रदान गर्ने देशका रूपमा आफ्ना मागहरू स्पष्ट राख्नुपर्ने सुझाव दिइएको छ ।

अनुरोध पत्रमा नेपालको जलवायु अनुकूलन प्रयासका लागि उपलब्ध कोष अत्यन्त न्यून भएको र यसले जलवायु न्यायको सिद्धान्तलाई कमजोर बनाएको उल्लेख छ । नेपालले आफ्नो कूल भूभागको ४५ प्रतिशत वन जोगा पर्यावरणीय सन्तुलन कायम राखेको तथा विद्युतीय सवारी साधनको प्रयोग र नवीकरणीय ऊर्जा उत्पादनमा प्रगति गरेको भए पनि आवश्यक वित्तीय सहयोग नपाउँदा योजना प्रभावकारी बन्न नसकेको विषय उठान हुनुपर्ने सांसदहरूको भनाइ छ । सांसदहरूले कोप २९ मा नेपालको माग र अडानको रूपमा जलवायु अनुकूलन कोषको पहुँचलाई दोब्बर बनाउन, हिमाल, मानव र जलवायु परिवर्तनको मुद्दालाई मुख्य प्राथमिकतामा राख्न, क्षति(नोक्सानी कोषलाई ऋणका सट्टा सहयोगका रूपमा उपलब्ध गराउन, तथा कार्बन उत्सर्जन कटौतीका लागि ठोस योजना बनाउनुपर्ने बुँदा समावेश गर्न आग्रह गरेका छन् ।

पत्रमा नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा प्रवेश गर्न लागेको सन्दर्भमा नेपालको जलवायु न्यायको मुद्दामा सहकार्य गरिरहेको अति कम विकसित मुलुकहरूको सञ्जालबाट बाहिर आउँदा हाम्रो सहकार्य कस्ता राष्ट्रहरूको सञ्जालसँग गर्ने भन्ने विषयमा रणनीतिक छलफल गर्न आवश्यक रहेको उल्लेख छ । जवाफमा राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा सुझावपत्रमा उल्लेखित विषयलाई समेट्न प्रयास गर्ने बताए । अनुरोधपत्र लिएर प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापा, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा एमाले सचेतक सुनीता बराल, सांसद सापकोटा, प्रतिमा गौतम र सरस्वती सुब्बा लगायत शीतल निवास पुगेका थिए । राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।