१० मंसिर २०८१, सोमबार 1732572732
समाचार

कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा

गोदावरी (कैलाली) : जिल्लाका विभिन्न भागका साथै चुरे गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडक सञ्चालनमा आएका छन् । वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा आएका हुन् । गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीका अनुसार वर्षाका कारण सो गाउँपालिकाका छवटा वडा जोड्ने सडक मर्मतपछिसञ्चालनमा आएको छ । वडा नम्बर १ भित्र रहेको सडक स्तरोन्नतिका लागि रु आठ लाख ८२ हजार, वडा नम्बर २ स्थित सल्लेखोला–तिल्कनी सडक मर्मत गर्न रु पाँच लाख ८१ हजार, वडा नम्बर ३ स्थित सडकरु तीन लाख ३८ हजारमा मर्मत भएको हो । यसैगरी वडा नम्बर ४ स्थित बैसेनी–खैराला हुँदै निगाली सडक मर्मत तथा स्तरोन्नति गर्न रु नौ लाख ६९ हजार, वडा नम्बर ४ पैराठा–आलुगडा हुँदै रानी भुकुडा सडक मर्मत गर्न रु नौ लाख ६९ हजार लागतमा स्तरोन्नति सम्पन्न भएको छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर ४ चौमाला–गर्भा दरबार हुँदै बसैनीसम्म रु नौ लाख ६९ हजार, वडा नम्बर ५ स्थित कृषि सडकको कामका लागि रु आठ लाख ५३ हजार, वडा नम्बर ६ फल्टुडे–गजार जोड्ने सडक स्तरोन्नतिको लागि रु नौ लाख ६२ हजार खर्च भएको छ । गाउँपालिकाका छवटा वडा जोड्ने सडक मर्मत सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । वर्षाका कारण अवरुद्ध सडक मर्मत भएपछि आवागमन सहज भएको छ । साथै चुरे गाउँपालिकाका छ वटा वडा सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उहाँले बताउनुभयो । अब यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले बजार पाउन थालेको चुरे–४ का स्थानीय प्रेम मगरले बताउनुभयो ।