१८ बैशाख २०८३, शुक्रबार 1777670301
Banner

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भेटवार्ता मौरिससको पोर्ट लुइसमा शुक्रबार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री खनाल हाल मौरिससको पोर्ट लुइसमा छन् । उनी बिहीबार त्यसतर्फ गएका हुन् ।

“नवौँ हिन्द महासागर सम्मेलन (१०–१२ अप्रिल २०२६) का लागि हाल पोर्ट लुइस, मौरिससमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो,” परराष्ट्र मन्त्रालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ ।

भेटमा नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा भारतीय विदेशमन्त्री डा. जयशंकरले बधाई दिएका थिए । भेटमा दुई नेताहरूले लामो समयदेखिको बहुआयामिक नेपाल–भारत सम्बन्धको समीक्षा गरेको परराष्ट्रले जनाएको छ ।

दुई देशका मन्त्रीबीच पारस्परिक हितका विषयमा रचनात्मक र अग्रगामी छलफल भएको थियो । दुई राष्ट्रहरू बीचको द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्न साझा प्रतिबद्धता जनाएको परराष्ट्रले जनाएको छ ।