काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका युवा नेताहरूले आयोजना गरेको ‘युवा सङ्कल्प अभियान’ मङ्गलवार सम्पन्न हुँदैछ । युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा भएको अभियान आज धनगढी पुगेको छ । अभियानमा सहभागी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विनोद शाही ठकुरीका अनुसार लगभग एक महिने अभियान भोलि अर्थात् मङ्गलवार महेन्द्रनगर पुगेर समापन हुने भएको हो ।
‘भोलि १ बजे महेन्द्रनगरमा कार्यक्रम गरेपछि अभियान सम्पन्न हुनेछ‚’ ठकुरीले धनगढीबाट रातोपाटीसँग भने । कार्तिक २३ बाट झापाको झापाको मेचीनगरबाट अभियानको सुरुवात भएको हो । अभियानका क्रममा किसान‚ उद्यमी‚ खेलाडी लगायत विभिन्न पेसा व्यवसायसँग सम्बन्धित मानिसहरूसँग संवाद गरिएको ठकुरीले बताए । ‘हामीले पूर्वाधारको अवलोकन गर्यौ, विभिन्न व्यक्तिहरूसँग संवाद गर्यौँ‚’ उनले भने‚ ‘आफ्नो कुरा कम राख्यौँ । उहाँहरूकै कुरा बढी सुन्यौँ । उहाँहरूको अपेक्षा तथा गुनासाहरू सुन्यौँ । यसलाई हामीले सङ्गृहीत गरेका छौँ।’ अभियानको नेतृत्व गरिरहेका नेता भूपेन्द्र शाहीले पनि युवा सङ्कल्प यात्राका विभिन्न सुझाव सन्देशहरू सरोकारवाला निकायमा पुराउने बताए । प्रतिवेदन बनाएर पार्टीलाई बुझाउने उनले जानकारी दिए ।
‘पार्टीलाई मात्र हैन जनताको आवाज प्रधानमन्त्री सम्म पुराउँछौँ । समय लिएर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँछौँ‚’ उनले भने । अभियान अन्तर्गत झापाको दमक, मोरङको उर्लाबारी, सुनसरीको इटहरी‚ सप्तरीको राजविराजमा कार्यक्रम गरिएको उनले बताए । यस्तै‚ सिराहाको लाहान‚ धनुषाको जनकपुर‚सर्लाहीको लालवन्दी, रौतहटको चपुर‚ बाराको निजगढमा कार्यक्रम भएका छन् । नेता शाहीका अनुसार पर्साको वीरगन्ज‚ मकवानपुरको हेटौडा, चितवनको भरतपुर, नवलपुरको गैँडाकोट र कावासोती, रुपन्देही बुटवल, दाङ्को लमही, नारायणपुर र तुल्सीपुरमा कार्यक्रम गरिएको छ । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगर , बाँकेको कोहलपुर‚ कैलालीको लम्की र धनगढीमा आज कार्यक्रम भएका छन् । भोलि कञ्चनपुरको महेन्द्रनगरमा कार्यक्रम हुनेछ ।