काबुल । मध्य अफगानिस्तानमा दुई वटा यात्रुवाहकबस दुर्घटनामा परेका छन् । अधिकारीहरूका अनुसार यस घटनामा कम्तीमा ५० जनाको मृत्यु भएका छन् भने र अरू दर्जनौँ घाइते भएका छन् ।
दुवै दुर्घटना राजधानी काबुल र दक्षिणी कान्धार सहरको बिचमा पर्ने गाज्नी प्रान्तको एउटै राजमार्गमा भएको बताइएको छ । घटना बुधबार अबेर रातमा भएको प्रान्तका सूचना प्रमुखले बिहीबार एक्समा जानकारी दिएका हुन् । पहिलो दुर्घटनामा बस मध्य गाज्नीको शहबाज गाउँ नजिक इन्धन बोकेको ट्याङ्करसँग ठोक्किएको थियो ।
अर्को घटनामा अन्धर जिल्लामा ट्रकसँग बस ठोक्किएको थियो । यी दुई दुर्घटनामा ५० जनाको मृत्यु भएको गाज्नी प्रान्तका गभर्नरका प्रवक्ताले भनेका छन् । तालिबान सरकारका प्रवक्ताले पनि दुर्घटनामा कूल ५२ जनाको मृत्यु भएको र अरू ६५ जना घाइते भएको बताएका छन् । अन्य अधिकारीहरूले घाइतेको संख्या ७६ जनासम्म पुगेको भनेका छन् ।