काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने जिकिर गरे। उनले अहिले खुला अदालतको रूपमा सुनुवाइ भइरहेको बताए। अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको उनकाे भनाइ छ। ‘अहिलेको जुडिसियरी ट्रान्सपरेन्स छ। पारदर्शी छ यो। कसैले यो पारदर्शी छैन भन्नेकुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ। हामीले जे काम गर्छौं, खुला अदालतको रूपमा हामी सुनुवाइ गर्दछौँ,’ उनले भने।
प्रधानन्यायाधीश राउतले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताए। न्यायपालिकाप्रति संशय हुने गरी कहिले पनि काम नगर्ने प्रतिबद्धता उनले जनाए। उनले भने, ‘निष्पक्षता न्यायपालिकाको प्राण हो। त्यसको अधिकतम र प्रचुर प्रयोग हामीले कति गरेका छौँ ? मलाई विश्वास छ, न्यायपालिकामा त निष्पक्ष नभइ चल्दै चल्दैन। न्यायपालिकाप्रति संशय हुनेगरी हामी काम नै गर्दैनौँ।’प्रधानन्यायाधीश राउतले न्यायपालिका र पत्रकारिताको स्वतन्त्रता संविधानले आत्मसात गरेका कुराहरू भएकाले त्यसको दुरुपयोग हुनु नहुने बताए।