काठमाडौं । भारतीय दूतावासले विश्व हिन्दी दिवस मनाएको छ । दुतावासको काठमाडौंको परिसरमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
कार्यक्रममा नेपालका सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष श्री मंगलप्रसाद गुप्ता, नेपाल सरकारको भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानकी कुलपति श्रीमती निशा शर्मा, भारतीय दूतावासकी काउन्सिलर (राजनीति, प्रेस सूचना तथा संस्कृति) गीताञ्जली ब्राण्डनसहित अन्य विशिष्ट अतिथिहरू उपस्थित थिए।
कार्यक्रमका क्रममा गीताञ्जली ब्राण्डनले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश वाचन गर्दै हिन्दी भाषाको महत्वबारे प्रकाश पारिन्। उनले विश्व हिन्दी दिवसले हिन्दी भाषाको समृद्ध सांस्कृतिक पहिचान र सम्पदाको स्मरण गराउने बताउँदै नेपालका हिन्दीप्रेमी विद्वान्हरूप्रति आभार प्रकट गरिन् ।
यस अवसरमा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरूले हिन्दी कविता वाचन र नाटक प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरे। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारहरूले समेत सांस्कृतिक प्रस्तुति दिएका छन् ।
कार्यक्रमको विशेष आकर्षण भारत(नेपाल मैत्री कवि सम्मेलन रह्यो, जसमा प्रतिष्ठित कविहरूले आफ्नो हिन्दी कविता वाचन गर्दै मन्त्रमुग्ध पारे।
विश्व हिन्दी दिवसको आधार सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा आयोजित पहिलो विश्व हिन्दी सम्मेलनलाई मानिन्छ। त्यसबेलादेखि हरेक वर्ष १० जनवरीका दिन विश्व हिन्दी दिवस मनाइन्छ।