काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णय को विरोध गर्दै जवाफ माग गरेका छन्।सोमबार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले झन्डै २८ अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारको निर्णयको विरोध गरेका हुन्।
पुराना दलले मुलुकलाई ऋणमा डुबाए भन्दै ऋण नलिने वाचा गरेर आएको दलले सत्तामा आउनेबित्तिकै २८ अर्ब रुपैयाँ ऋण लिएको भन्दै उनले आश्चर्य प्रकट गरे। पुनले देशको आवश्यकताअनुसार ऋण लिनु स्वभाविक भएपनि त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिलेका साथीहरु हामी ऋण लिदैनौँ। पुरानाहरूले मुलकलाई ऋणमा डुबाए भनेर उहाँहरू आउनुभएको हो। अनि आउँदाआउँदै एकैपटक २८ अर्ब ऋण लिनुभयो। यसबारे सरकारले जवाफ दिनेकुरा हो र जनताले बुझिहाल्छन् नि। ऋण लिन्नौँ भन्ने अनि आएकै दिन २८ अर्ब ऋण लिनेलाई जनताले पत्याउनुहुन्छ कसरी?’ उनले पूर्वाधार निर्माण र रोजगारीको क्षेत्रमा ऋणको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए।


