काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काठमाडौँमा गजेन्द्रनारायण सिंहको २४ औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष राउतले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस गरेको बताए । उनले मधेसवादी दलहरू अब एकत्रित हुने ठुलो सम्भावना रहेको पनि बताए । उनले दुई वटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताए ।
उनले भने, ‘मधेसवादी दलहरू एकत्रित हुने ठुलो सम्भावना छ । किनभने दुई वटा ठुला दलहरू आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा बिरलै हुने कुरा हो । दुई वटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन ।’ अध्यक्ष राउतले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको बताए ।