काठमाडौँ : सोनाम ल्होसारका अवसरमा बागमती प्रदेशप्रमुख, कोशी प्रदेशका मुख्यमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी ल्होसार मनाउने तामाङ समुदायका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोनाम ल्होसारलागयत चाडपर्वहरू सांस्कृतिक सम्पन्नताको परिचायक भएका गर्दै यस्ता पर्वले समाजमा एकता, मेलमिलाप, शान्ति र सौहार्द अभिवृद्धिमा योगदान पुग्ने बताउनुभएको छ । यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति मात्रे समुदायबीचको सहकार्य, एकता र आपसी सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्दै सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ को शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश सरकारले सबै समुदायको पहिचान स्थापित गर्न आफू निरन्तर लागिरहेको बताउँदै सन्देशमा उहाँले विविधतायुक्त कोशी प्रदेशमा सबै समुदायले एकअर्काको सहअस्तित्वलाई स्वीकार गरी सुखी र समुत्रत प्रदेश निर्माणमा महत्वपूर्ण योगदान गरिरहेका उल्लेख गर्नुभएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सबै समुदायले मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण गर्नुपर्नेमा जोड दिँदै सोनाम ल्हासारले बन्धुत्व, आपसी प्रेम, हार्दिकता गर्ने विश्वास शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने तामाङ समुदायको नयाँ वर्षको सोनाम ल्होसार पर्वमा सो समुदायले कुल र प्रकृति पूजा गर्ने प्रचलन छ ।