काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारले ६ महिनामा देखाउने कुनै काम गर्न नसकेपछि अध्यादेशको सहरा लिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा दलीय धारणा राख्दै पाण्डेले ल्याउने ट्रेनले पार्टीभित्रका सांसदलाई बाध्य पारेर अध्यादेश पारित गरिनुपर्ने अवस्था सिर्जना गर्न लागिएको बताए । ‘यसमा खेल्ने, छलफल गर्ने ठाउँ छैन भन्ने देखिन्छ’, उनले भने, ‘दुई तिहाइ छ जेजे मन लाग्यो त्यही गरे भइगयो त । कालोलाई सेतो भन्नुस् । जे मनलाग्यो त्यही गर्न दुई तिहाइ हो ?’
नेता पाण्डेले दुई तिहाइको घमण्ड नगर्न आग्रह गर्दै अध्यादेशले निरंकुश शासनको झल्को दिएको बताए । उनले आर्थिक सूचक सकारात्मक नभएको भन्दै युवाहरू दैनिक विदेश जाने क्रम नरोकिएको र गाउँ खालि भएको बताए । उनले सरकार विरोधीलाई दमन गर्न सरकार लागेको भन्दै सहकारी समस्या जस्ताको तस्तै रहेको बताए । उनले संविधान संशोधन गर्ने भनेर दुई दलबिच गठबन्धन भएपनि अहिले त्यो विषय कहाँ हरायो भन्दै प्रश्न गरे । उनले बुढिगण्डकी आयोजनामा केही समयभित्र सुरु नभए धादिङ र गोरखाका जनताले राजमार्ग छेक्नुपर्ने अवस्था आउने चेतावनी दिए ।