काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङ २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छिन् । जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानले बताए । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।
तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं- १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन् । सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।