तनहुँ, २० माघ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नंको कारलाई समेत ठक्कर दिएको छ । घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको पहरीले जनाएको छ ।