विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले देशमा दुई पाटीको अधिनायकत्व कायम भएको बताएका छन् । सोमबार विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले दुई पाटीको अधिनायकत्वले मुलुकलाई अग्रगतितर्फ नभई अधोगतितर्फ लगेको आरोप लगाए ।
लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिने खालको स्थिति देखा परेको उनको भनाइ थियो । दुई पार्टीको संख्याले राजनीतिक सङ्कट देखा परेको उनले बताए । ‘राजनीति क्रमिक रूपले सङ्कटग्रस्त नै बनिरहेको छ,’ उनले भने, ‘आर्थिक क्षेत्रमा कुनै अग्रता प्रगति देखिँदैन ।
मूल्यवृद्धि बढेको बढ्यै छ । महँगी बढेको बढ्यै छ । उद्योग धन्दाको विकास हुन सकेको छैन ।’सरकारले कतिपय भ्रष्टाचारीलाई धमाधम छोड्न थालेको उनले बताए । ‘भ्रष्टाचारीहरू अब समातिन्छन् कि भन्यो, तिनीहरूलाई धमाधम छोडिँदै छ । उनीहरूले उन्मुक्ति प्राप्त गर्दै छन् । देश अगाडि होइन देश पछाडि पर्न थाल्यो,’ उनले भने ।
प्रमुख दलले नै संविधानका मूल्यमान्यता कुल्चिएर हिँडेको उनले आरोप लगाए । ‘संविधान संशोधन होइन लागू नै भएको छैन । संविधानअन्तर्गत बनाउनु पर्ने तीन दर्जन बढी कानुन बनेकै छैनन् । भएका पनि लागू भएका छैनन्,’ उनले भने ।
अहिले संविधान संशोधनको केही अर्थ नराख्ने पनि उनले बताए । संविधानले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन नरोकेको पनि उनले बताए । राजनीतिमा विषय उनीहरूकै नैतिकताको कुरा भएको उनले बताए ।


