नेपालगन्ज । बाँकेको बैजनाथमा भएको एक बिहे समारोहमा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी आयुषप्रसाद जोशीका अनुसार २५ वर्षीय रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । घाइते अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याउने क्रममा रमाइलो चलिरहेको अवस्थामा मदिरा पिएका युवाहरूबीच ‘ग्याङ फाइट’ भएको थियो । दुलही भित्र्याएपछि नाचगान चलिरहेको समयमा रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबीच विवाद बढ्दै जाँदा कुटपिट भएको थियो ।


