बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा पाल्पाको रानी महलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताए । लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेको बताए ।
उनले बुटवल–नारायणघाट सडक खण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरू चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको खुलाए ।लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरू गण्डकी प्रदेशमा निर्यात हुने गरेको, यसको थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको बताए ।कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै दुवै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताए । कानुन निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरूपता ल्याउने बारेमा समेत धारणा राख्दै संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरू प्रदेशलाई हस्तान्तरणका लागि पनि प्रदेशहरूको बिचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको बताए ।


